‘रअ’ प्रमुखले प्रधानमन्त्रीलाई भेटेको सचिवालयद्वारा पुष्टि

काठमाडौँ– भारतीय गुप्तचर संस्था (रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल आएका रअ प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि गरेका हुन् । थापाका अनुसार हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमु गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा गोयलले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको सल्लाहकार थापाले समाजिक सञ्‍जालमार्फत जानकारी दिएका छन्।

थापाले लेखेका छन्, ‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो । भेटका क्रममा उहाँले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो ।’