पछिल्लो २४ घण्टामा थपिए ३०९३ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ थियो । पछिल्लो २४ घण्टामा थप २१०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९६ हजार ६०९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९४ हजार ५०१ रहेको थियो ।नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।