कोरोना संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने

काठमाडौं, लोक सेवा आयोगको परिक्षामा कोरोनाभाइरस संक्रमित परिक्षार्थी सहभागि हुन नपाउने प्रावधान ल्याएको छ ।आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।परीक्षार्थी आफू कोभिड–१९ को संक्रमणबाट संक्रमित भएरनभएको स्वयंले घोषणा गर्नुपर्नेछ । संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न हुने छैन । जारी मापदण्डमा भनिएको छ ।परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयम्ले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नुपर्नेछ ।

सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि यस्तो मापदण्ड बनाइएको हो।लोक सेवाले परीक्षामा सामेल हुन पुरुषका लागि उमेर हद ३५ र महिलाका लागि ४० वर्ष तोकेको छ ।गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै छ । असोजमा सहसचिव र उपसचिव, कात्तिकमा प्रशासनको शाखा अधिकृत, मसिंरमा प्राविधिकतर्फको शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारलगायत पदको विज्ञापन निकाल्ने जनाएको छ ।

पहिलो चरणको परीक्षा सम्पन्न भएर परिणामसमेत आइसकेका विभिन्न तहको दोस्रो चरणको लिखित परीक्षासमेत आयोगले थाल्दै छ ।आयोगले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै परीक्षा लिने स्पष्ट पारेको छ । त्यसका लागि एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् ।एक बेन्चमा एक जना मात्रै बस्ने गरी एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ ।परीक्षा केन्द्रमा परीक्षार्थी तथा परीक्षामा खटिने जनशक्तिले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।