विश्वकपको छनोट खेलमा ब्राजिलको शानदार जित

काठमाडौँ, सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट खेलमा ब्राजिलले शानदार जित हासिल गरको छ । शनिबार बिहान भएको खेलमा बोलिभियालाई ५–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद् सुरुवात गरेको हो ।

ब्राजिलको जितमा दुई गोल रोबर्टो फिर्मिन्होले गरे भने मार्कुन्होस र फिलिप कौटिन्होले एक एक गोल गरे । यस्तै, ब्राजिलले एक आत्मघाति गोल उपहार पाएको थियो । खेलको १६ औं मिनेटमा मार्कुन्होसले गोल गर्दै घरेलु टोली ब्राजिललाई सुरुवाती अग्रता दिलाए । ३० औं मिनेटमा फिर्मिन्होले ब्राजिलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ४९ औं मिनेटमा फिर्मिन्होले दोस्रो गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।

६६ औं मिनेटमा ब्राजिलले ४(० को अग्रता लियो । कौटिन्होको क्रस पेनाल्टी क्षेत्रभित्र रहेका बोलिभियाको डिफेन्डर जोसे मारिया करास्कोको पेटमा लाग्दै गोल भएको थियो । यस्तै, ७३ औं मिनेटमा कौटिन्होले हेडमार्फत गोल गर्दै ब्राजिललाई ५–० को शानदार जित दिलाउन सफल भए । जितसंगै ब्राजिलले तालिकामा ३ अंक जोडेको छ ।