भेरी अस्पतालद्धारा माइक्रोस्कोपिक न्युरोसर्जरी सेवा सुरु

बाँके, नेपालगञ्ज स्थित भेरी अस्पतालमा माइक्रोस्कोपिक न्युरो सर्जरी सेवा सुरु भएको छ। अस्पतालमा अपरेटिङ माइक्रोस्कोप जडानसँगै उक्त सेवा सुरु भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए। मस्तिष्क र मेरुदण्डजस्ता अत्यन्त संवेदनशील अंगमा हुने स–साना नशा तथा तन्तुहरुलाई हेरेर अपरेसन गर्न उक्त उपकरण प्रयोग गरिएको छ।

‘स–साना नशा तथा तन्तुलाई अत्यन्त जतनका साथ चलाउनुपर्ने हुन्छ,’ डा. थापाले भने, ‘नाङ्गो आँखाले सहजै देख्न नसकिने यस्ता नशाहरुलाई अपरेटिङ माइक्रोस्कोपको सहायताले म्याग्निफाइ गरेर हेरिन्छ र सर्जनले आफूले चाहे अनुसार सुरक्षित तरिकाले अपरेसन गर्न सक्छन्।’

अस्पतालमा न्युरो सर्जन डा. हरि पौडेल आएपछि न्युरोसर्जरी जस्तो जटिल प्रकृतिको उपचार सहज भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए। अस्पतालले गत आर्थिक वर्षमा एक करोड ४१ लाख एक हजार ७६९ सय ९१ पैसामा उक्त मेसिन खरिद गरिएको बताएको छ।

अपरेटिङ माइक्रोस्कोप जडान भएपछि हालसम्म ६० वर्षीया महिलाको मेनिङ्गिओमा र नौ वर्षीया बालिकाको स्पाइनल इन्ट्रड्युरल इपिडर्मोइड ट्युमरको अपरेसन भएको अस्पतालले जनाएको छ। मस्तिष्कका नशा फुलेर फुटेकोमा बाँध्ने, रगतका नशाहरुको गुच्छाको गडबडी र मस्तिष्क क्यान्सरको शल्यक्रियाजस्ता उपचारमा यस प्रविधिको प्रयोग हुने मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले बताए।