पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादको तेस्रो जित

एजेन्सी, यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।

पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११/११ रन जोडे । हैदराबादका लागि राशिद खानले ३ विकेट लिदा खलिल अहमेद र टी नटराजनले २/२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।

बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए । पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १५ ओभरमा १ सय ६० रनको साझेदारी गरेका थिए ।जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पन्जाबको भने ६ खेलमा पाँच हार र एक जितसहित तालिकाको पुछारमा छ ।