नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई

एजेन्सी, यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने भएको छ । बिहीबार स्टकहोममा आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवि ग्लिकलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो । विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । कवि ग्लुकले साहित्यमार्फत ‘काव्यात्मक आवाजमार्फत सुन्दर ढंगले व्यक्तिगत अस्तित्वलाई सर्वव्यापी बनाउन’ भूमिका खेलेको भन्दै यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको स्विडिस एकेडेमीले जनाएको छ । सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लिक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत हुन् ।

सन् १९९२ मा प्रकाशित कवितासंग्रह ‘द वाइल्ड आइरस’ लाई समीक्षकहरुले पनि प्रशंसा गरेका थिए । जुन कवितासंग्रहमा रहेको ‘स्नोड्रप्स’ कवितामा शिशिर यामपछि कसरी चामत्कारिक ढंगले जीवन फर्किन्छ भन्ने कुरा प्रस्तुत गरेकी छिन् । त्यस्तै उनका ‘भिटा नोभा’, प्रूफ्स एन्ड थिएरिज’, ‘मिडोल्यान्ड्स’, ‘फेथफुल एन्ड भर्चुअस नाइट’ लगायतका कवितासंग्रह प्रकाशित छन् । गत वर्षको नोबेल साहित्य पुरस्कार अस्ट्रियाका लेखक पिटर ह्यान्ड्केलाई दिइएको थियो । गत वर्ष २०१८ को नोबेल साहित्य पुरस्कार पनि प्रदान गरिएको थियो । उक्त पुरस्कार पोलिस लेखक ओल्गा टोकारजुकलाई दिइएको थियो ।

सन् २०१८ मा एकेडेमीकी एक महिला सदस्यका श्रीमानलाई बलात्कारको आरोप लागेपछि नोबेल साहित्य पुरस्कार रोकिएको थियो । त्यसअघि सन् २०१७ मा जापानी लेखक काजुओ इसिगुरो र २०१६ मा अमेरिकी लोकगायक तथा गीतकार बब डिलनलाई नोबेल साहित्य पुरस्कार दिइएको थियो । त्यस्तै साहित्यमा पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली साहित्यकार सुली प्रुधोमलाई प्रदान गरिएको थियो । यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ । यस वर्षको शान्तितर्फको नोबल पुरस्कार अक्टोबर ९ र अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १२ मा घोषणा हुनेछ ।