गुण्डा नाइके बले दम्पतिविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं, सम्पत्ति शुद्धीकरण विभागले ‘बले’ भनेर चिनिने गुण्डानाइके बलराम सापकोटा र उनी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको हो ।

हाल काठमाडौं लाजिम्पाट बस्दै आएका काभ्रे रोसी(४ का बले यसअघि जुवाखालबाट पक्राउ परेका थिए । त्यसपछि विभागले बलेविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान अगाडि बढाएको थियो ।विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ । उनीहरुबाट बिगो, र बिगो बराबरकै जरिवाना असुल्न माग दाबी गरिएको छ ।

यस्तै बलेका नाममा रहेको घर जग्गा र गाडी पनि जफत गर्न रिटमा मागदाबी गरिएको छ । बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ ।विभागका अनुसार झापाका विभिन्न ठाउँमा बलेको नाममा स्रोत नखुलेको जग्गा पनि भेटिएको छ । यसगरी पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको सेयर लगानी रहेको भेटिएको जनाइएको छ । ती सबै सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै विभागले जफतको लागि माग दाबी पेस गरेको छ ।