कर्णाली प्रदेश अस्पतालका डा सापकोटाको कोरोना संक्रमणबाट मृत्यु

यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

सुर्खेत, कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा हरि सापकोटाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनि प्रदेश अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञको रुपमा कार्यरत थिए ।

प्रदेश अस्पतालका स्रोतका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नं ३ का ५२ वर्षीय ११औं तहका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा हरि सापकोटाको निधन भएको हो।भदौ २९ गते कोरोना पुष्टि भएका डा सापकोटा असोज १ गते भेरीमा भर्ना भएका थिए। आज ३ः१० बजे उनको मृत्यु भएको हो ।

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो ।डा खड्कासहितको टोली बिहीबार ४ बजे नेपालगन्जतर्फ गएको छ ।योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।