विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिड भ्याक्सिन किनिदिने

काठमाडौं, विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिड विरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आम मानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ ।

बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउना साथ विश्व बैंकले भ्याक्सिन किनिदिनेछ । उसले कोभिडविरुद्धको खोपका लागि धेरै समय कुर्न नसकिने भन्दै चाँडो उत्पादन गर्न पनि आग्रह गरेको छ । विश्व बैंकको यो घोषणाले निम्न आय भएका देशहरूका करिब दुई अर्ब मानिसको उपचार गर्न सकिने विश्वास लिइएको छ ।

गरीब राष्ट्रहरूका लागि सहयोग गर्ने यो योजना विश्व बैंकका सेयर होल्डरहरूको अनुमोदनका आधारमा हुनेछ । अहिले विभिन्न राष्ट्रहरुले कोरोनाविरुद्धको खोप तयार गरी परीक्षणका क्रममा छन् ।रुस, अमेरिका, चीनलगायतका देशले कोरोनाको खोप विकास गरी मानव परीक्षण गरिरहेका छन् । यी देशहरुबीच विश्व बजारमा आफ्नो खोप जतिसक्दो छिटो पुर्‍याउने होडबाजी समेत चलिरहेको छ ।