ओलम्पियन नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त

इलाम, ओलम्पियन नेपाली स्विमङ खेलाडी नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त भएका छन्। सामाजिक सञ्जालमार्फत नयनाले आफूसहित श्रीमान् बास्केटबल पूर्वखेलाडी एवम् प्रशिक्षक विकास शाही र छोरा इभान कोरोनामुक्त भएको जानकारी गराएकी छन्।

कोरोना संक्रमण देखिएको १६ दिनपछि शाक्य दम्पतीको टेस्ट नेगेटिभ आएको हो। संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा रहेका थिए। गत भदौ ३० गते घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि नयना, उनका श्रीमान र छोराको पिसिआर परीक्षण गरेकी थिइन्।

पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको थियो। शाक्यले आठौं दक्षिण एसियाली खेलकुद सागमा पौडीमा स्वर्ण जितेकी थिइन्।