परीक्षाको लागि पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीको पीसीआर परीक्षण नगराई उनीहरुलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पीसीआर परीक्षण गर्नु वैज्ञानिक आधार नभएकाले अनावश्यक पीसीआर परीक्षण नगराउन मेडिकल कलेजहरुलाई अनुरोध गरेका हुन् ।

‘मेडिकल कलेजहरुले परीक्षामा सामेल हुने विद्यार्थीको पीसीआर परीक्षण गर्ने निर्णय गरेका छन्,’ प्रवक्ता गौतमले भने, ‘यसलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन। त्यसैले यो निर्णय कार्यान्वयन निर्णय कार्यान्वयन नगराई, पीसीआर बिना नै परीक्षा लिन अनुरोध गर्दछु।’

राष्ट्रिय परीक्षण मापदण्ड अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु, लक्षण देखिएका र फ्रन्टलाइनर तथा आइसियुमा भर्ना भएका व्यक्तिलाई परीक्षणको दायरा तोकेको छ। उक्त दायराभन्दा बाहिर परीक्षण गर्नु अवैधानिक भएको भन्दै त्यसो नगर्न मन्त्रालयले आग्रह गरेको हो।