खोलाले बगाउदाँ बेपत्ता भएका कार्यालय प्रमुखसहित २ जनाको शव अझै फेला परेन

रुपन्देही, कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलाले बगाउदाँ बेपत्ता भएका दुई जनाको शव अझै फेला परेको छैन् । लगातार पानी परेका कारण वेपत्ताको खोजी कार्यमा समस्या आएको हो ।बुधबार दिउँसो ४ बजेदेखि बाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को बीचमा पर्ने कजवेमा आएको खोलाले विद्युत कार्यालयको जीप बगाउँदा विद्युत वितरण केन्द्र ४ नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र अर्का स्थानीय केशव भाटक्षेत्री बेपत्ता भएका थिए । वेपत्ताको लगातर खोजी गरेपनि अझैसम्म फेला पार्न नसकिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौड्यालले रातोपाटीलाई जानकारी दिए ।

उनले हिजो राती अबेरसम्म र आज बिहानै ५ बजेबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजीमा परिचालित भएपनि अविरल वर्षाका कारण खोलाको सतह उच्च भएकोले भेटाउनको सकस भएको उनले बताए ।

विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको बा. १ च.१०८९ पजेरो जीप बाढीले बगाएको थियो ।

प्राधिकरणका कर्मचारीसहित ६ जना सवार उक्त जीप बगाउँदा ३ जना भने हाम फालेर बाच्च सफल भएका थिए । जिप चालक गुल्मी घर भएका ३५ वर्षीय माधवप्रसाद पाण्डेको मृत्यु भएको थियो ।