काठमाडौमा विप्लव निकट अखिल क्रान्तिकारीको राजनैतिक प्रशिक्षण तथा रक्तदान कार्यक्रम

नेत्र विक्रम चन्द विप्लव नेतृत्व को नेपाल कम्युनिष्ट पार्टि निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी ले असोज ७ गते हिजो राजाधानीमा नेपालमा शैक्षिक आन्दोलनको अबको दिशा, क्रान्तिकारी विद्यार्थीको भूमिका, वैज्ञानिक समाजवादमा शिक्षा नीतिलगायत विषयमा प्रशिक्षण तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।काठमाडौँ उपत्यकामा कार्यरत विद्यार्थी को सहभागीतामा प्रशिक्षण कार्यक्रम मा सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, उपाध्यक्ष रुद्र भट्टराई, महासचिव प्रकाश शाही र उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले वैज्ञानिक समाजवादी शिक्षाका लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यसका लागि सङ्घर्ष गर्नुपर्ने बताए । त्यसका लागि आफ्नो सङ्गठनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो । उनले संयुक्त विद्यार्थी आन्दोलनमार्फत पनि नेपालको विद्यार्थी आन्दोलन चर्काउनुपर्नेमा जोड दिए ।सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले केही विद्यार्थी सङ्गठन शैक्षिक दलाल र माफियाबाट पालिएका कारण विद्यार्थी आन्दोलनमाथि प्रश्न उब्जिएको बताउँदै अबको आन्दोलन विश्वविद्यालयमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।महासचिव शाहीले विद्यार्थी आन्दोलनको नेतृत्व आफ्नो सङ्गठनको काँधमा आएकाले योजना दृढतापूर्बक कार्यान्वयन गर्न कार्यकर्तालई निर्देशन दिए ।

उनले क्रान्तिकारी व्यवहारबाट विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।संगठन उपत्यका व्युरो संयोजक हर्क विक ले शैक्षिक रूपान्तरणका साथै सत्ताको आमूल रूपान्तरण गर्न नेपालका क्रान्तिकारी युवा विद्यार्थीको काँधमा ऐतिहासिक जिम्मेवारी आएको बताए । उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्न सङ्गठन शुद्धीकरणका साथसाथै सुदृढीकरणको प्रक्रिया सँगसँगै चलाउनुपर्ने आवश्यकता औँल्याए । दलाल राज्यसत्ताको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको दलालीकरण र माफियाकरणको अन्त्य नहुने भन्दै विकले पहिला राज्यसत्तामै आमूल परिवर्तन हुनुपर्ने धारणा राखे ।

कार्यक्रमको सञ्चालन सङ्गठनका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द बिष्टले गरेका थिए भने स्वागत मन्तव्य क्याम्पस जिल्ला अध्यक्ष तारा सञ्ज्याल रावलले गरेको जनाइएको छ ।