स्थगित रहेका र नियमित परिक्षाहरु संचालनमा आउन थाले

काठमाडौँ ,  स्थगित रहेका र नियमित परिक्षाहरु संचालनमा आउन थालेका छन् । स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षाहरु दिन पाउने भएका छन् । उच्च शिक्षामा सबैभन्दा धेरै विद्यार्थीहरुको भार वहन गरेका कारण त्रिभुवन विश्वविद्यालयले भने परीक्षाका लागि तयारी गर्दै गरेको र यस विषयमा पदाधिकारी तहमा छलफल सुरु गरेको जनाएको छ ।

घरैबाट परीक्षा
पूर्वाञ्चल विश्वविद्यालयले असोज दोस्रो साताबाट नियमिततर्फको स्नातक तथा स्नातकोत्तर तर्फको परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा यस पटक अनलाइनबाट लिने गरी तय भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले यसलाई वैकल्पिक विधि अर्थात् निश्चित समयमा घरबाट दिने परीक्षाबाट लिने भएको हो ।

नेसंविमा असोज १५ बाट
प्रविधिमा विद्यार्थीको पहुँच कम भएपछि नेपाल संस्कृत विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने निर्णय गरेको छ । विश्वविद्यालयले पहिलो चरणमा असोज १५ बाट आयुर्वेद स्नातक ९बीएएमएस० तहको नियमित तथा पूरक तहका विद्यार्थीको परीक्षा लिने निधो गरेको छ । बीएएमएसतर्फ प्रथम, द्वितीय र तृतीय वर्षका विद्यार्थीको परीक्षा लिइने भएको हो ।

मध्यपश्चिमको परीक्षा १७ गतेबाट
मध्यपश्चिम विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा असोज १७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणको यो परीक्षा कात्तिक ६ भित्र पूरा गर्ने विश्वविद्यालयको कार्यतालिका छ । दोस्रो चरणमा मङ्सिरको पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेको विश्वविद्यालयले जनाएको छ ।