सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस

काठमाडौँ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना संक्रिय संक्रमितको संख्या २५ हजार भन्दा बढी भएमा पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिएका हुन् ।

यस्तै, मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने निर्णय गरेको छ । हाल नेपालमा १७ हजार ४१४ संक्रिय संक्रमित छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । १ हजार ८९३ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।