बर्दियामा जङ्गली हात्तीले आतङ्क

हात्तीको आक्रमणमा परी एकजना घाइते

बर्दिया, बर्दियाको मधुवन नगरपालिका १ मा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलबाट दिनहुँ आउने हात्तीले खेतमा रोपेको धान, भटमासलगायत बालीमा क्षति गर्ने गरेको मधुवन १ का धनिराम थारूले बताए ।

उनका अनुसार गएराति हात्ती धपाउन बसेका स्थानीयवासी ४५ वर्षीय कृष्णप्रसाद थारू हात्तीको आक्रमणमा परी घाइते भएका छन् । राष्ट्रिय निकुञ्जबाट आउने हात्तीले बर्सेनि घर भत्काउने, स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती नोक्सान गर्ने गरेको छ । एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको थारूले सुनाए ।

जङ्गली जनावरहरुको क्षति रोक्न र स्थानीयवासीलाई सुरक्षित गर्न आफूहरु निरन्तर लागिरहेको वडाध्यक्ष बिन्तीराम थारूले बताए । तारबारमा करेन्ट प्रवाह गर्ने एनेलाइजर मेसिनमा खराबी आएको र तार बाँधिएका पोलहरु ढलेका कारण मर्मतको तयारी भइरहेको थारूले जानकारी गराए ।