कक्षा ११ र १२ का विषय समूह र कोड परिवर्तन

काठमाडौं, पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र कक्षा १२ को विषय कोड परिवर्तन गरेको छ। केन्द्रले शिक्षक, विद्यार्थी, सरोकारवाला र पेसागत संघसंस्थाबाट प्राप्त सुझावका आधारमा शैशिक सत्र २०७७ बाट लागू हुने गरी विषय र कोड पनि परिवर्तन गरिएको जनाएको छ।

विषय कोड परिवर्तनसँग केन्द्रले कक्षा ११ र १२ मा पढाइ हुने विषयको सूची पनि सार्वजनिक गरेको छ। केन्द्रले साधारणतर्फ, संस्कृततर्फ र गोन्पा/मदर्सातर्फको अनिवार्य र ऐच्छिक विषयको सूची सार्वजनिक गरेको हो। कक्षा ११ मा र १२ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथना जीवनोपयोगी शिक्षा अनिवार्य गरिएको छ।

साधारण धारतर्फ ऐच्छिक विषय पहिलो समूहमा १५ वटा विषय छन्। यस्तै ऐच्छिक दोस्रो समूहमा १५ वटा, तेस्रो समूहमा २८ वटा र चौथो समूहमा २१ वटा विषय छन्। ऐच्छिक विषयअन्तर्गत चार समूहमध्ये विद्यार्थीले कुनै तीन समूहबाट एक एक विषय छनोट गर्नुपर्नेछ। संस्कृततर्फका विषयमा भने संस्कृत रचना र संस्कृत भाषा तथा व्याकरण अनिवार्य रुपमा पढ्नुपर्नेछ।

संस्कृततर्फ पनि नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षा साधारण धारमै उल्लेख भएअनुसार हुनेछ भने विद्यार्थीले अंग्रेजीको सट्टा संस्कृत रचना पढ्न सक्नेछन्। संस्कृतधारतर्फ ऐच्छिक पहिलो समूहमा ११ वटा, ऐच्छिक दोस्रो समूहमा ६ वटा र थप ऐच्छिकतर्फ ६ वटा विषय छन्।

यस्तै गोन्पामा अनिवार्य अंग्रेजीको सट्टा बौद्ध शिक्षा राखिएको छ भने मदर्सामा उर्दू व्याकरण र साहित्य पढ्नुपर्नेछ। अनिवार्य विषय भने साधारणतर्फकै छन्। गोन्पामा ऐच्छिक पहिलो समूहमा बौद्ध दर्शन तथा मदर्सामा कुरान विषय राखिएको छ। ऐच्छिक दोस्रोमा ६ वटा तथा ऐच्छिक तेस्रो समूहमा सातवटा विषय राखिएका छन्।