कोरोना रौनक

कविता

रोग भोग र शोक
जीवनका अवरोध !
ठूला र बडा,
एन नाइन्टिन, स्यानिटाइजर र साबुन !
गरिब, कुल्ली र भरिया !
रित्तो नाक, ठेले हत्केला र सारङ्गी आन्द्रो,
लाज छोप्न,भोज होइन भोक टार्न
सडकका पेटीमा करोडौं सपना देख्दै
बाचूँ र बचाऊँका लागि खाली हात अनि
देखेर सारङ्गी आन्द्रो,

मस्त हाँसोमा लट्ठिएको शासक,
इम्युनिटीको निहुमा चौरासी व्यञ्जन,
योगको ध्वासमा गल्ली गल्ली चहार्दै,
सुटुक्क भट्टीमा छिरेर भएभरको अनाज
भ्यागुते पेटमा जबर्जस्त कोच्दा !
विचरा सारङ्गी आन्द्रोमा दौडेको मुसाले,
ङिच्च परेर फुस्रो बेसहारा जीवन धिकार्दै,
अदृश्य भगवान् ! निश्वास धुमिलो अनुहारमा
कोरोना दौडेको छ या भोक ?

शासक मौका छोपेर अरबौ घोटालामा
मानौ सधै बाचिरहने झैँ गरि ।
एब्सर्ड जीवन पढ्ने पाठशालामा,
बडेमानको भ्यागुते शरीरलाई छिराएर
एमिल जोला र कामुको ‘द मिथ अफ सिसिफस’ पढाउने कसले ?
देवकोटाको ‘यात्री’ नबुझ्ने

कोइरालाको ‘फर्सीको जरा’ नदेख्ने शासक ?
प्लेटोको ‘रिपब्लिक’ र नित्से पढे झैं गरि,
मार्क्स र लेनिनको आत्मालाई धुजा बनाएर,
राजनीतिलाई पेशा ठान्ने शासकलाई,
ग्रीस नपुगेर गान्धीको पाठ कसले पढाउने ?