अखिल क्रान्तिकारीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।बिहिवार अखिल (क्रान्तिकारी) भेरी-कर्णाली क्षेत्रिय समन्वय समिति अन्तर्गत जिल्ला समिति, बाँकेले एक कार्यक्रमका बिचमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कोभिड-१९ को बिश्वब्यापी महामारीको कारण देशैभरको साथै बाँके जिल्ला पनि रगतको अभावको संकटलाई मध्यनगर गर्दै संगठनको केन्द्रीय निर्देशन अनुसार रक्तदान गरिएको संगठनले जनाएको छ ।

यस्तो जटिल परिस्थितिमा रगतको अभापको कारण कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस्, हाम्रो सानो सहयोगले बिरामीहरूलाई सामान्य राहत पुगोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिबि शाहीले जानकारी दिए ।

साथै आगामी दिनहरुमा संगठनले यस्ता विभिन्न खालका सामाजिक सेवामूलक तथा रचनात्मक कामहरु निरन्तर गर्दै जाने अध्यक्ष शाहीले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बाँके जिल्ला सेक्रेटरी सनिल सिँह, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज मदन चन्द, बाँके जिल्ला अध्यक्ष डिबि शाही, जिल्ला उपाध्यक्ष डिल्ली क्षेत्री लगायत करिब ३० जनाले रक्तदान गरेका हुन ।

पछिल्लो समय सरकारले विप्लव नेतृत्वको नेकपा माथि प्रतिबन्ध लगाईसंगै पार्टी माथिल्लो केन्द्रीय देखि जिल्ला तहका नेता संगै पार्टी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता-कार्यकर्ता माथि पनि व्यापक रुपमा दमन,धरपकड र गिरफ्तार गरेर मुद्दा चलाउदै आएको छ । हाल सम्म उक्त पार्टी र पार्टी निकट जबसका करिव ४ हजारको संख्यामा केन्द्रीय स्तर देखि जिल्ला स्तरका नेता-कार्यकर्ता हिरासतमा बन्दी जीवन विताई रहेका छन् ।