कर्मचारीको उपस्थितिमा कुलमान घिसिङलाई बिदाइ

जनस्तरबाट पुनर्नियुक्ति गर्न सरकारलाई दबाब

काठमाडौँ, नेपाल विद्युत प्राधिकरणले कार्यकाल सकिए लगतै कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाइ गरेको छ ।

मंगलबार प्राधिकरणमा आयोजित विदाई कार्यक्रममा आइतबार कार्यकाल सकिएका घिसिङलाई कार्यलयमा कार्यरत कर्मचारीको उपस्थितिमा औपचारिक बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका थिए । २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो ।

कार्यकालमा निकै प्रशंसा कमाएका घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनस्तरबाट दबाब बढेको छ । तर सरकारले पुनर्नियुक्ति विषयमा कुनै निर्णय गर्न सकेको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घिसिङलाई नै लैजानुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने दोहोर्‍याउने मनस्थितिमा नभएको स्रोतको भनाई छ ।