नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई राप्ती गाउँपालिकाले

अब आफै कार्वाही गर्ने

दाङ, देउखुरीको राप्ती गाउँपालिले आफ्नाे क्षेत्र भित्रका नदी तथा खाेलाहरूबाट नदीजन्य पदार्थ चोरी निकासी तथा उत्खनन् गर्नेहरू माथि गाउँपालिकाले आफै कार्वाही प्रकृया अघि बढाएकाे छ । सधै नदी तथा खाेलाहरूमा उत्खनन् का लागि टेण्डर खाेल्ने गाउँपालिकाले पछिल्लाे समय राप्ती गाउँपालिकामा कृयाशिल पत्रकारहरूकाे निरन्तर खबरदारी तथा नियमित रिपाेटिङ्ग र राप्ती नदी तथा पर्यावरण संरक्षण समितिको निरन्तर खवरदारी पछि गाउँपालिकाले यति बेला सुचना नै प्रकाशन गरेर कार्वाही प्रकृया अगाडि बढाएकाे हाे ।

गाउँपालिकाले यही भदाै २६ गते सुचना नै प्रकाशन गरी नदिजन्य पदार्थ हाल बन्द रहेकोले गैर कानुनी रुपमा ननिकाल्न सुचना प्रकाशन र प्रशारण गरेकाे छ । यता याे सुचना प्रकाशन भएकाे तीन दिनमा ३ वटा टेक्टर नियन्त्रणमा लिएर जरिवाना गरेको गाउँपालिकाका प्रवक्ता विद्याशरण चाैधरीले जानकारी दिएका छन् ।

सरकारको नियमानुसार बातावरणीय प्रभाव मुल्याङकन आइईई र ईआईई पुरा गरी निकासी गर्नु पर्नेमा हाल सो आईईई र ईआईईको प्रक्रिया भैरहेको र निकट दिनमै प्रक्रिया गतरुपमा नदिजन्य पदार्थ खुल्ला गरिने भएको हुँदा केही समयलाई यस्ता चोरी निकासी तथा उत्खनन् कार्य नगर्न नगराउन राप्ती गाउँपालिकाले सबैमा अनुरोध समेत गरेको छ ।

गाउँपालिकाले नदिजन्य पदार्थ कोही कसैले चोरी निकासी गरेको पाइएमा नियमानुसारको जरिवाना गर्ने गरी कार्यपालिकाकोे बैठकबाट निर्णय भएको हुँदा गाउँपालिकाको अनुमति र स्वीकृती नलिई कोही कसैले यस किसिमको कार्य नगर्न नगराउनुहुन प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले एक सुचना प्रकाशन गरी सबैमा अनुरोध तथा जानकारी गराएका छन् ।

साथै गाउँपालिकाको अनुमति वा स्वीकृती विना कसैले नदीजन्य पदार्थको अवैध उत्खनन र संकलन गरेको देखेमा नजिकको प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकामा जो कोहीले जानकारी गराएमा र अबैध चोरी गर्नेलाई पक्राउ गर्न सुचना दिएमा सुचना दिनेको नाम ठेगाना गोप्य राखिने र जरिवानाको २० प्रतिशत पुरस्कार समेत दिईने प्रमुख प्रशासकिय अधिकृत रिजालले जानकारी दिएका छन् ।

पछिल्लो समय जिल्ला समन्वय समितिले स्थानिय सरकारलाई चोरी निकासी गर्नेको जरिवाना लिने अधिकार दिए संगै राप्ती गाउँपालिकामा ३ दिनमा ३ वटा टेक्टर नियन्त्रणमा आएका हुन् । राप्ती गाउँपालिकाको कार्यपालिका बैठकले नदिजन्य पदार्थ चोरी गर्ने सवारी साधनलाई क्रमश पहिलो पटक, दोस्रो पटक तेस्रो वा सो भन्दा बढी प्रति पटकको लागि टेक्टरबाट २० हजार , ३० हजार , ४० हजार , टिप्परबाट ४० हजार , ५० हजार , ६० हजार, ब्याकहो लोडरबाट ६० हजार , ८० हजार , १ लाख , स्काभेटरबाट ८० हजार, ९० हजार र १ लाख २० हजारका दरले जरिवाना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले दोस्रो पटक चोरी निकासीमा पक्राउ परेका सवारी साधन भएमा सवारीधनी तथा सवारी नम्वर र चालकको नाम सार्वजनिक गर्ने समेत बताएको छ ।

नदी तथा खाेलामा प्रहरीकाे निगरानी

राप्ती गाउँपालिकाले सुचना नै प्रकाशन गरेर नदीजन्य पदार्थ चोरी निकासी तथा उत्खनन् गर्नेहरू माथि कार्वाही गर्ने निर्णय भएसंगै प्रहरीले समेत खाेला तथा नदीहरूमा निगरानी बढाएको छ ।  यता प्रहरीले निगरानी बढाए संगै तीन दिनको अवधीमा ३ टयाक्टर प्रहरी नियन्त्रणमा लिनुकाे साथै ६० हजार जरिवाना समेत तिराएकाे छ ।

प्रहरीले गत भदौ २३ गते वडा नम्बर २ को खुरूरीयाघाट, २७ गते वडा नम्बर ६ को बगरापुरघाट र २८ गते सोही वडाको भगवानपुरघाटबाट गैर कानुनी रुपमा अनुमति विना अवैध रुपमा ढुंगा, गिट्टी, वालुवा, मिस्कट लगाएतका नदीजन्य पदार्थ उत्खनन तथा संकलन हाल लाई बन्द गरिएकोमा रातको समयमा चोरी निकासी गरेको भन्दै ३ वटा टेक्टरलाई इलाका प्रहरी कार्यालय भालुवाङ र प्रहरी चाैकी सिसहनियाँले नियन्त्रणमा लिएर प्रति टेक्टर २० हजारका दरले जरिवाना गरेको छ । तीन दिनको अवधीमा ३ वटा टयाक्टरबाट ६० हजार जरिवाना गरी प्रहरीले राप्ती गाउँपालिकालाई जरिवाना रकम बुझाएको छ ।