मेस्सी विश्वकै सर्वाधिक कमाइ गर्ने फुटबलरको सुचिमा

काठमाडौँ, अर्जेन्टाइन तथा बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी विश्वकै सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् ।फोर्ब्सका अनुसार युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका हुन् । मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ भने रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ ।

फोर्ब्सका अनुसार मेस्सीको करिअरको कमाइ १ बिलियन अमेरिकी डलर पुगिसकेको छ।यस्तै, ब्राजिलियन तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार तेस्रो स्थानमा रहन सफल भएका छन् । उनको कमाई ९६ मिलियन डलर रहेको छ । चौंथो स्थानमा पीएसजीकै युवा स्टार केलियन एमबाप्पे रहेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ ।यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सलाह ३७ मिलियनसहित पाँचौ स्थानमा रहन सफल भएका छन् ।

म्यानचेष्टर युनाइटेडका पउल पोग्वा ३४ मिलियनसहित छैटौं स्थानमा छन् ।बार्सिलोनाका एन्टोनी ग्रीजमन ३३ मिलियनसहित सातौं, रियल मड्रिडका गारेथ बेल २९ मिलियनसहित आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ २७ मिलियनसहित दशौँ स्थानमा रहन सफल छन् ।