सरकारले गर्यो बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय

काठमाडौं, सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा गौतमको नाम सिफरिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।यसअघि बर्दियाबाट चुनाव हारेका गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गरेको थियो । पार्टीको निर्णयको आधारमा सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो। सरकारको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेपछि गौतम राष्ट्रियसभा सदस्य बन्नेछन् ।

प्रधानमन्त्री केपी ओली निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभामा लैजाने पक्षमा रहेपनि पार्टीभित्र दवाव बढेपछि गौतमलाई नै राष्ट्रियसभामा लैजान बाध्य भएका थिए ।
पछिल्लो समय गौतमले समेत अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।

गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो । सोही महिनाको २० गते खतिवडाको रष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उनको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी ओली सो निर्णयलाई अवज्ञा गरेका थिए भने पार्टीभित्र यही विषयमा विवादसमेत चर्किएको थियो ।

विवादकै कारण ओलीले संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिएका थिए भने अहिलेसम्म कसैको मनोनयन भएको थिएन ।