धारचुला पुगेर दार्चुला हेर्दा

कविता

दार्चुलाको खलंग हुँदै पारी तरेर
पिथौरागढ-धारचुलाको नेपालरोडमा
मन अमिलो पार्दै
नेपाल आमाको लुछिएको मासुमा पाइला राखि
फेरी लुछ्न खोज्दै गरेको अर्को चोक्टो मासु हेर्न तम्सिरहँदा
मैले साँच्चै आमा रोएको देखेँ ।

नेपाली भुमीमा बालुवा गिटी उत्खनन हुँदा
नदीले पनि हाम्रै आमाको छातीमा कटन गरिरहेको देखेँ
कुन्री कति हो सालमा, बाढीले खलंगमा ठूलो कटन गरेको रैछन्
त्यै बेला आधा भत्किएर रहेको घरहरू अझै बाँकी रहेछन्
त्यो घर देख्दा झट्ट आँखा अगाडि
नेपाल आमाको ब्वाँसोले लुछेको रक्तम्मे शरिर देखेँ ।

समाजिक सञ्जालमा नारा जुलुस हेर्दै गर्दा
महाकाली किनारको नेपाली भू(भागमा भारतीय सैनिक
महाकाली नदि झै निडर बनि
एकग्रताका साथ तालिम गरिरहेको दृश्य
चिडियाखानामा जनावार हेरिरहेका बालक झै
मैले एकोहोरिएर हेरिरहँदा
मेरी आमाको काखमा सोतेनी भाइ खेलिरहेको देखेँ ।

यो त केवल दार्चुलाको खलंग हो
कालापानी र लिपुलेक पुग्ने मेरो सामार्थ्य पुगेन
छिमेकीले मेरी आमालाई शोषण गरेको धेरै भयो
आमामाथि भएको अत्याचारको हिसाब कुनै छोराहरूले राखेका छैनन्
यहि कल्पनामा डुबेर महाकालीको छाल हेरिरहेको थिएँ
त्यो निश्चल छालमा मैले मेरो भविष्य देखेँ
जहाँ,
मेरा सन्तानहरू बाउ पुगेको ठाउँ भनेर आउँछ
तर आज दार्चुला लेखेको स्तम्भमा
छिमेकीहरूले पथौरागढ-धारचुला लेखेको देखेँ ।