गृहमन्त्री थापा र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र पाकिस्तानबीच द्विक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेको राजदूत जावेदसँगको विदाई भेटमा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिए । गृहमन्त्री थापाले नेपाल-पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा उनलाई धन्यवाद दिए ।

भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाइ सुखद रहेको बताए । उनले नेपाल र नेपालीबाट सहयोग तथा न्यानो माया पाएको बताए ।