कोरोनाबाट काठमाडौंमा थप ३ जनाको मृत्यु

ललितपुर, कोरोना संक्रमणबाट भक्तपुरका थप २ जना र काठमाडौंका एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ जनाको पाटन अस्पतालमा र एक जनाको मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ १७ गतेदेखि पाटन अस्पतालमा भर्ना भएका भक्तपुरका ७२ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति पौने १० बजे मृत्यु भएको हो । त्यस्तै भदौ १९ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ५१ वर्षीय कोरोना संक्रमतिको पनि उपचारका क्रममा शनिबार बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी ललितपुरस्थित मेघा अस्पतालमा शुक्रबार भर्ना भएका भक्तपुरका ३६ वर्षीय पुरुषको पनि शनिबार बिहान ७:४० मा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । योसँगै काठमाडौं उपत्यकाका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

अहिलेसम्म काठमाडौंका ४७, भक्तपुरमा १२ र ललितपुरका ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमण पनि तीव्र रुपमा बढिरहेको छ । शुक्रबार मात्रै काठमाडौंमा ६२० र भक्तपुर र ललितपुरमा ३८–३८ जना संक्रमित थपिएका थिए ।