१०७ औं बीपी जयन्ती देशभर बिभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं । आज नेपाली कांग्रेसका संस्थापन तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कांग्रेसले संस्थापक नेता बीपीको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर देशभर मनाउँदै छ ।

कांग्रेसले जिल्ला र विदेशस्थित जनसम्पर्क समितिहरुलाई परिपत्र गरेर कोरोना प्रतिकुलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरेर अनिवार्य रुपले भौतिक दूरी कायम गर्दै अनिवार्य मास्क प्रयोग गरेर वा ‘भर्चुअल’ रुपमा कार्यक्रम गर्न निर्देशन दिएको छ ।
बीपी जयन्तीको अवसरमा तय गरिएका कार्यक्रमअन्तर्गत राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम पनि समावेश गरिएको कांग्रेसले जनाएको छ । बीपी जयन्तीको अवसर पारेर केन्द्रीय कार्यालयले तीन दिने कार्यक्रम तय गरेको नेपाली काँग्रेशले जनाएकाे छ ।
काँग्रेश केन्द्रिय कार्यालयका अनुसार आज (बुधबार) दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक ‘भर्चुअल’ विचार गोष्ठी आयोजना गरिने भएको छ । केन्द्रीय कार्यालयको संयोजनामा हुन लागेको विचार गोष्ठीलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका बीपीको १९७१ भदौ २४ गते जन्म भएको थियो । क्यान्सर रोगले बीपीको २०३९ साउन ६ गते निधन भएको थियो ।

