कञ्चनपुरमा बलात्कारको घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान पक्राउ

कञ्चनपुर,  प्रहरीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायाले बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ परेका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाउने काम भइरहेको छ ।

यही भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरी पाँच दिनपछि फेला परेको प्रहरीले जनाएको छ । ‘किशोरीलाई यही भदौ १९ गते फेला पारेर सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो’, प्रवक्ता थापाले भने, ‘पछि जबर्जस्तीकरणमा मुद्दा ल्याएपछि सोहीअनुसार अनुसन्धान अघि बढेको छ ।’

उनका अनुसार किशोरीले आफूलाई पाँच/छ जनाको युवा समूहले बन्धक बनाएर बलात्कार गरेको बताएकी छन् । किशोरीको उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउद पक्राउ परेको र अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।