दाङमा मंगलबार थप ३ जनामा कोरोना पुष्टि

जिल्लामा संक्रमितको संख्या ८ सय ४३ पुग्यो

देउखुरी , दाङमा मंगलबार थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घाेराहीमा गरिएको ७७ जनाकाे स्वाब परिक्षणमा २ जना पुरूष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । संक्रमित हुनेमा जिल्लाको गढवा गाउँपालिकाका ५० वर्षीय १ पुरूष र ५६ वर्षीया महिला रहेका छन् भने शान्तिनगर गाउँपालिकाका २६ वर्षीय १ जना पुरूष रहेका छन्।

गढवाबाट संकलित २८ जनाको स्वाब परिक्षण गर्दा २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै, शान्तिनगर गाउँपालिकाबाट संकलित ५२ जनाको स्वाब परिक्षण गर्दा ५१ जनाको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन चन्दले बताए । दाङमा मंगलबार थप ३ जनामा कोरोना देखिएसँगै जिल्लामा अहिलेसम्म ८ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ७ सय २७ जना उपचारपछि निको भई डिस्चार्ज भइसकेका छन् अब १ सय १३ जनाको विभिन्न आइसोलेसन र होम आइसोलेसनमा उपचार भइरहेको छ ।

जस अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा २४ जना, देउखुरीस्थित कोरोना आइसोलेसन सेन्टर मौरीघाटमा १४ जना, पद्योदय आइसोलेसनमा ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना, जिल्ला बाहिरका आइसोलेसनमा १२ जना र सबै भन्दा बढी होम आइसोलेसनमा ६३ जना उपचाररत छन् । जिल्लामा सबैभन्दा बढी प्रभावित घोराही उपमहानगरका नागरिक भएका छन् ।

अहिलेसम्म घोराहीमा ३ सय ३९ जना कोरोना संक्रमित भएकोमा २ सय ७५ जना निको भइसकेका छन् भने ६२ जना अझै संक्रमित रहेका छन् । यस्तै, दंगीशरणका १ जना, शान्तिनगरका ४ जना, तुलसीपुरका ३४ जना, लमहीका १ जना, राप्ती गाउँपालिकाका ७ जना, गढवाका ३ जना र राजपुरका २ जना गरी १ सय १३ जना आइसोलेसनमा रहेका छन् ।

यसैबीच, समुदाय स्तरमा फैलिएको कोरोना नियन्त्रणका लागि जिल्लामा लागु गरिएको निषेधाज्ञासँगै परिक्षणको दायरा बढाइएको बताइएको छ । बितेको एक सातामा जिल्लाभर साढे १५ सय स्वाब संकलन भएको छ । तीमध्ये १४ सय बढीको परिक्षण रिपोर्ट आउँदा करीव ५ प्रतिशतमा कोरोना देखिएको छ । यद्यपि, कोरोना पुष्टि हुनेमा ५० प्रतिशत बढी समुदायस्तरका रहेका छन् ।