पर्सा, बारा र रौतहटमा थप २९ जनामा कोरोना पुष्टि

वीरगन्ज,  सेना र प्रहरीसहित पर्सा, बारा र रौतहट जिल्लामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगञ्जको नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा प्रदेश २ का तीन जिल्लामा थप २९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए । संक्रमण देखिनेमा पर्साका १३ जना, बाराका ९ र रौतहटका ७ जना रहेका छन् । प्रयोगशालामा सोमबार राति कुल ५ सय ८० जनाको स्वाब परीक्षण गरिएकोमा २१ जना पुरुष र ८ महिलाहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा १९ वर्षदेखि ६० वर्षका समेत रहेका छन् । पर्साका १३ जना संक्रमितमध्ये वीरगन्ज स्थित तराई अस्पतालका ३ जना रहेका हुन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १०, १३, १२ र १६ का एक÷एक जना गरि ४ जना छन् । पर्साको कालिकामाइ गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका २/२ जनामा संक्रमण देखिएको छ भने एक जना वीरगन्ज आर्मी ब्यारेकका छन्।

यस्तै बाराका ९ जना संक्रमितमध्य बारागढी गाउँपालिकाका ४ जना कोरोना भाइरस पुष्टि भएको छ भने एक जना इलाका प्रहरी कार्यालय बारागढीका प्रहरी छन् । संक्रमित हुनेमा कलैया उपमहानगरपालिका २ जना र बाराका अन्य ठाउँका २ जना रहेका छन । रौतहट गरूडा प्रहरी कार्यालयमा ७ जना संक्रमण थपिएको छ ।