बागलुङका बाढीपीडितलाइ घर बनाइदिने गृहमन्त्री थापाको आश्वासन

काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा बाढी र पहिरोले क्षतिग्रस्त बनाएका संरचनाको पुनर्निर्माणको काम तत्काल अघि बढ्ने आश्वासन दिएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरण गर्न पुगेका थापाले तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा काम अघि बढ्ने बताए। तथ्यांक संकलनको काम भइरहेको भन्दै उनले वर्षा सकिएलगत्तै काम अघि बढ्ने बताए। प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउने सरकारको नीतिअनुसार तत्काल जनतालाई राहत पुर्याइएको उनले बताए।

‘मृतक परिवारलाई राहतस्वरुप पहिले एकलाख दिने गरिएको थियो अहिले २ लाख दिने निर्णय गरिएको छ,’ उनले भने, ‘पूर्ण क्षतिग्रस्त घरहरु सरकारले बनाइदिने, नभए आफै बनाउनेलाई ३ लाख दिने र आवश्यक ऋण पनि दिने व्यवस्था गरिएको छ।’

ढोरपाटन नगरपालिका- ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका परिवार र प्रभावितलाई राहतसमेत वितरण गरिएको छ। बिहीबार मौसम खराबीका कारणले जान नसकेपछि मन्त्री थापा (आज) शुक्रबार बिहान बागलुङ पुगेकका हुन्। टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसमेत सहभागी थिए।