वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्युु

पर्सा,वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान गएको हो । योसँगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो । उपचारको क्रममा साँझ साढे ७ बजेतिर उनको मृत्यु भएको अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।

वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् । मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।