धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापा, मोरङ र सिराहाका कोरोना संक्रतिमको मृत्यु भएको हो। झापाको दमक नगरपालिका ३ का ८३ वर्षीय वृद्धको आज विहान पौने ४ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

उनका अनुसार भदौ ३ गते कोरोना पुष्टि भएदेखि उनी प्रतिष्ठानमा उपचाररत थिए। दुवै मृगौला फेल भएर लामो समयदेखि डायलासिस गराइरहेका उनी उच्च रक्तचाप र मधुमेहका पनि दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ। यस्तै मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको आज विहान सवा ३ बजे मृत्यु भएको छ। उनमा भदौ ९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। पहिला कोशी अञ्चल अस्पताल पुगेकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रतिष्ठानमा रिफर गरिएको थियो।

यसैबीच, प्रतिष्ठानमै उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको छ। भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो। उच्च रक्तचापका विरामी समेत रहेका उनलाई अवस्था जटिल भएपछि दुई दिनदेखि आइसियुमा राखेर उपचार गरिएको थियो।