मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु

परिवारद्वारा छानविनको माग

विराटनगर,  जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु शंकास्पद रहेको पाइएपछि पीडित परिवारले छानविनको माग गरेका छन्। लागु औषध मुद्दामा जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय निराजन यादवको बुधबार दिउँसो कोशी अस्पतालमा मृत्यु भएको थियो।

यादवको मृत्यु शंकास्पद भएपछि आफन्तले कारागारमा कुटपिटपछि हत्या गरिएको आरोप लगाउँदै पोस्टमार्टम गरेर घटनाको सत्यतथ्य छानबिन गर्दै अनुसन्धान अघि बढाएर दोषीमाथि कारबाही गरिनु पर्ने माग गरेका हुन्। मृतकका दाजु देवेन्द्र यादवले चार दिनअघि कारागारमा पैसा पुर्याइदिँदा भाइको अवस्था सामान्य नै रहेको बताए।

मृत्यु शंकास्पद भएकाले छानविन हुनुपर्ने उनको माग छ। कारागारमा भेट्दा सकुशल र स्वस्थ रहेको भाइको एक्कासि मृत्युको खवर आएको उनको भनाइ छ । मृतकका आफन्त विष्णु यादवले कारागारभित्र चरम यातना दिएको आफूहरूले जानकारी पाएको बताए ।

पोस्टमार्टमपछि दाहसंस्कारका लागि परिवारका सदस्यलाई शव जिम्मा लगाइएको छ । उपचारका क्रममा कुनै कैदीबन्दीको मृत्यु भएमा यसअघि पोस्टमार्टम नगरी शव परिवारलाई बुझाउने गरिएको थियो । कारागारका जेलर सुवासकुमार लामिछानेले मृतकमा छारे रोगको समस्या रहेको बताए । ‘श्वासप्रश्वासमा एक्कासि समस्या भयो भनेर बेहोस बनेपछि उपचारका लागि लगिएको हो,’ उनले भने, ‘उपचारकै क्रममा मृत्यु भयो ।’

लामिछानेले यातना दिएर मारिएको दाबी आफन्तको रहेका कारण घटनाको छानबिन गर्न कारागार प्रशासनले पोस्टमार्टम रिपोर्ट पर्खिएको बताए । यादवलाई जिल्ला अदालत मोरङले २०७६ फागुन ११ गते नौ महिला १९ दिन कैद र ७८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । घटनापछि मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था अनौपचारिक सेवा केन्द्र क्षेत्र (इन्सेक) ले पीडित पक्ष र जेलर प्रमुखसँग घटनाका बारेमा जानकारी लिएको छ । इन्सेकका प्रदेश संयोजक सोमराज थापाले पीडितसँग भेटेर घटनाबारे जानकारी लिएको बताए ।