बैंकका कर्मचारीसहित पोखरामा ११ जनामा कोरोना पुष्टि

पोखरा,कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा ११ जना कोरोना संक्रमित थपिएका छन्।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा विभिन्न वडाका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिएकामध्ये पोखरा महानगरपालिका- २ का संक्रमित व्यक्ति कामना विकास बैंक, दीप शाखामा र पोखरा महानगरपालिका- ३ का संक्रमित व्यक्ति एभरेस्ट बैंक, अमरसिंह चोक शाखामा कार्यरत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै पोखरा महानगरपालिका- १४ का ३५ वर्षीय संक्रमित व्यक्ति ईन्जिनियरिंग कन्सल्टेन्सीमा कार्यरत रहेको र पोखरा महानगरपालिका- १ का संक्रमित व्यक्ति मोबाइल पसलका सञ्चालक रहेको निर्देशनालयले जनाएको छ।

त्यसैगरी पोखरा महानगरपालिका- ५ का संक्रमित व्यक्ति पोखरा औधोगिक क्षेत्रमा कार्यरत छन्। अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयको भनाइ छ।