दाङको राप्ती गाउँपालिकामा थप एक जनामा काेराेना संक्रमण

गाउँपालिकाको ५ वटा टोल शुक्रबारदेखि एक हप्ताकालागि सिल

भालुवाङ, दाङ-देउखुरीकाे राप्ती गाउँपालिकामा पहिलाे पटक समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे छ । आज राप्ती गाउँपालिका वार्ड नम्बर १ का ५५ बर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे हाे ।  लमही स्थित नेत्रलाल स्मृति प्रतिष्ठानमा स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसियार परिक्षण गर्दा ती पुरूषमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएकाे छ ।

ती पुरूषमा रूघाखाेकी, ज्वराे सहितकाे लक्षण देखिएपछि उनलाई घाेराहीकाे दीपज्याेति हस्पिटलमा उपचार भईरहेकाे छ । आवश्यक भेन्टिलेटर र अक्सिजन सहितकाे उपचार गर्नुपर्ने अवस्था भएकाेले दाङमा याे सम्भव नभएकाे राप्ती गाउँपालिकाका स्वास्थ्य संयाेजक नारायण राउतले जानकारी दिएका छन् । नेपालगञ्ज, बुटवलमा उपचारका लागि ठाउँ अभाब भएकाे हुँदा ती संक्रमित पुरूषलाई कहाँ लैजाने बिषयमा अन्याैल रहेकाे स्वास्थ्य शाखा संयाेजक राउत बताए ।

यता समुदायसतरमै काेराेना संक्रमण देखिएपछि राप्ती गाउँपालिकाको ५ वटा टोल सिल गर्न लागिएकाे छ । राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय विपद व्यवस्थापन समिति ( C.C.M.C) का अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बिहीबार बसेको बैठकले भदौ १२ गते राती १२ बजे देखि भदाै १९ गते राती १२ बजे सम्म सिल हुने भएको छ ।
बैठकले गाउँपालिका क्षेत्र भित्र समुदाय स्तरमा कोभिड १९ को संक्रमण फैलाउट रोकथाम न्युनीकरण र नियन्त्रणका लागि वडा नम्बर १, ४ र ८ का ५ वटा टोललाई ७ दिन सम्मका लागि शिल गर्ने निर्णय गरेको छ। जस अनुसार वडा नम्बर १ को भालुवाङ पुल्चोक बजार क्षेत्र र पुरानो भालुवाङ बजार क्षेत्र, पाखापानी क्षेत्र त्यसै गरी वडा नम्बर ४ को बुढीचाैर , माैरीघाट क्षेत्र र वडा नम्बर ८ को कोहलुवा शिल हुने भएका छन् ।

त्यसैगरी बैठकले गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण किसिमका सार्वजनिक यातायात सेवा(बस, माइक्रो,अटो ,टेम्पो र अन्य सवारीसाधान) आर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय सञ्चालन हालका लागि स्थगन गर्ने, स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीले आलोपालो गरी कार्य सञ्चालन गर्ने निर्णय गरेको छ । साथै बैठकले गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा वाहेक अन्य सवै सेवा भदौ १२ गते देखि स्थगित गर्ने र वडा कार्यालयबाट कोभिड १९ को रोकथाम सचेतना अभिवृद्धिका लागि प्रचारप्रसार गर्ने लगायतको निर्णय गरेको छ ।