गजल

भीर पाखामा लालीगुँरास फुलिरहने देश मेरो
बेंसी फाँटमा डाँफे मुनाल डुलिरहे देश मेरो ।

झुकेँनन कहिल्यै बैंरिको सामु वीर पुर्वजहरु
स्वाभिमान को उचाई मा चुलिरहने देश मेरो ।

ढुंगा खोज्दा देउता मिल्छ नुन खोज्दा सुन मिल्छ
शरद याम मा मार्सी धान झुलिरहने देश मेरो ।

कलकल झरना, न्यानो वायु बहिरहने हरदम
प्रकृति को वात्सल्य मा भुलिरहने देश मेरो ।

अपार छन गुणहरु चौकोषे यो झाडिका है
समग्र मा कृषि बाली बटुलिरहने देश मेरो ।

लयाँटी, अछाम
हाल: बाँके