नक्कली पासपोर्ट प्रकरण पाँच महिना नजरबन्दमा बसेर ब्राजिल फर्किए रोनाल्डिन्हो

एजेन्सी , नक्कली पोसपोर्ट पेश गरेको आरोपमा पक्राउ परेपछि पाराग्वेको तारे होटलमा आफ्नो दाई रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्हो पाँच महिनापछि स्वदेश फर्किएका छन्।

देशमा प्रवेश गर्नका लागि नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा गत मार्चमा दुई जनालाई पक्राउ गरिएको थियो ।विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका दाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए। लगत्तै दुवै जनाले बोकेको पासपोर्ट नक्कली भएको भन्दै पक्राउ गरिएको थियो।

एक महिनापछि दुवैलाई १.६ मिलियन अमेरिकी डलरमा जमानतमा रिहा गर्दै पाराग्वेको चार तारे होटलमा नजरबन्दमा राखिएको थियो। दुवै जना मुद्दा चलुन्जेल त्यहाँ बसेका थिए। अब रिहा भएसँगै एसिसको पाराग्वेमा आपराधिक रेकर्ड रहनेछ भने रोनाल्डिन्होको रहनेछैन ।एसिसले दुई वर्षसम्म ब्राजिल छाड्न पाउनेछैनन् र २४ महिनाको अन्तरालमा समय–समयमा रियो दि जनेरियोका अधिकारीहरु सामु उपस्थित हुनुपर्नेछ ।

एक प्रचारात्मक कार्यक्रममा पाराग्वे पुगेका दुई दाजुभाईले सुरुमा नक्कली पासपोर्ट प्रयोग गरेको कुरा अस्वीकार गर्दै आएका थिए । पक्राउ परेपछि उनीहरुले ३२ दिन जेलमा बिताएका थिए । अप्रिलको अन्त्यतिर सम्म पनि एक टेलिभिजन अन्तरवार्तामा रोनाल्डिन्होले उनी र उनको दाईलाई पासपोर्ट नक्कली भएको थाहा नभएको बताएका थिए ।