सुदूरपश्चिममा थप १२९ जनामा कोरोना संक्रमण

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डोटीको प्रयोगशाला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरी थप १२९ जनामा कोरोना पुष्टि भएको हो ।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । उनकाअनुसार अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८÷८ र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको हो ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका ७, बर्दगोरी र जानकी गाउँपालिकाका ४÷४ जनामा संक्रमण पुष्टि भएको छ भने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छब्बीसपाथिभेराका ६ र दुर्गाथलीका २ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुसालले जानकारी दिए ।

डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ । ८ र ९ भदौमा ५९ जनाको कोरोना परिक्षण गरिएकोमा थप ४५ जनामा कोरोना पुष्टि अस्पतालका मोलेकुलर ल्याब इन्चार्ज सौरभ श्रेष्ठले बताए । ल्याव इन्चार्ज श्रेष्ठका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाका १ पुरुष र १ महिला गरी २, केआइसिंह गाउँपालिकाका ४ पुरुष र शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५७१ जनाको कोरोना परीक्षण गरिएकोमा ३४ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचनाअधिकारी श्रेष्ठका अनुसार अछामको साँफेबगर नगरपालिकाका ५ जना, चौरपाटी गाउँपालिकाका १२ जना, मंगलसेनका १ जना, आदर्श डोटीका १ जना, कैलालीको लम्किचुहाका ५ जना, धनगढी उपमहागरपालिकाका ७ जना, कैलालीको जानकी गाउँपालिकाका १ जना र गोदावरी नगरपालिकाका १ जना रहेका छन् ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ३९ पुगेको छ । संक्रमण पुष्टि भएका ४ हजार ४ सय जनाले कोरोना जितेका छन् भने १२ जनाको मृत्यु भईसकेको छ ।