दिउँसो सुनसान सीमा नाकामा, राति तस्करी

काठमाडौं, सरकारले सीमा नाकाको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरीको जनशक्ति खटाए पनि विभिन्न बहानामा हुने आवतजावत र अवैध तस्करी रोकिएको छैन ।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नाकाबाट हुने आवतजावत तथा अवैध गतिविधि रोक्न खोज्दा कतिपय स्थानमा तस्कर समूहबाट सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयाससमेत भएको छ ।

तस्कर समूहका नाइकेले खेतबारीमा हुने कामको बहानामा बाहेक दिउँसोमा हुने आवतजावत रोके पनि कतिपय स्थानमा राति कारोबार चलाउन सक्रिय भएका छन् । सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा गत चैतबाट नै सीमा नाकाबाट हुने आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।

आइतबार मात्रै बारामा भारतबाट तस्करी गरेर ल्याइएका ४० बोरा रासायनिक मल स्थानीय प्रशासनले बरामद गरेको छ । आइतबार बिहान बाराको सिम्रौनगढ गाउँपालिकाअन्तर्गतका ४ वटा नाका अनुगमनका क्रममा नौवटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको रासायनिक मल बरामद गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

‘अवैध ओसारपसार भइरहेको सूचनापछि अनुगमनलाई तीव्रता दिएका छौं, सीमा नाका त बन्द छ, तस्करी बन्द भएन, तस्करीलाई पनि बन्द गराउनेतर्फ हाम्रो अभियान अघि बढेको छ,’ बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले राजधानीसँग भने ।

कैलालीमा पनि दिनहुँजसो सुरक्षाकर्मीले तस्करीका सामान बरामद गर्दै आएका छन् । कैलालीमा गत शुक्रबार सशस्त्र प्रहरीले सुर्तीजन्य पदार्थ, प्लास्टिकको डोरी र मबिललगायतका ३ लाख मूल्य बराबरका सामान बरामद गरेको थियो ।

भजनी नगरपालिका–७ हिक्मतपुर र कैलारी गाउँपालिका–३ को भितरियाघाट क्षेत्रबाट भन्सार छलेर ल्याइएका सामान बरामद पछि थप कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिएका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।