दाङमा लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना पुष्टि

दाङ , दाङमा आज बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । घोराही–१५ को हस्पिटल रोडमा रहेको लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको वडाध्यक्ष रमेश पाण्डेले जानकारी दिएका छन् । संक्रमितलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको वडाध्यक्ष पाण्डेले भने ।

यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले पनि कोरोना पुष्टि भएको बताएका छन् । कोरोना पुष्टि भएकालाई आइसोलेसनमा राख्नका लागि समन्वय भइरहेको उनको भनाई छ। साथै प्रमुख शाहीले छिट्टै कन्ट्याक्ट ट्रेसिङको समेत काम थालिने बताए ।
संक्रमितहरुमा केहि दिन देखि कोरोनाको लक्षण देखिएपछि स्वाब परिक्षण गरिएकोमा तीनै जनामा संक्रमण पुष्टि भएको हो । उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैंकका घोराही शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिए । कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखिए पछि आशंकामा स्वाब परिक्षण गरिएको उनले बताए ।

संक्रमित मध्ये घोराही–१४ र १५ का दुई जना र एक जना काठ्माण्डौका रहेका छन् । घोराही शाखाका कर्मचारीको सबै कर्मचारीको स्वाब परिक्षण गरेपछि मात्रै बैंकको सेवा सुचारु गरिने म्यानेजर केसीले जानकारी दिएका छन् ।