नेपालमा चीन, रुस र बेलायतको कोरोनाविरुद्धको खोप परीक्षण शुरु

काठमाडौं, नेपालमा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित थपिंदै गइरहेका बेला नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोनाविरुद्धको खोप परीक्षण प्रक्रिया अगाडि बढाइएको छ ।

खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको छ । तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणको लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिएका छन् ।

स्वीकृति पाएसँगै परिषद्ले प्रक्रिया अगाडि बढाएको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले विश्वमा तेस्रो चरणमा पुगेको खोप नेपालमा परीक्षणका लागि अध्ययन थालेको जानकारी दिए  चीनको होङ्सी ग्रुप, बेलायतको अक्सफोर्ड ग्रुप र रुसी कम्पनीलगायत सात कम्पनी नेपालमा खोपको परीक्षण गर्न इच्छुक देखिएका उनले बताएका छन् । खोपको परीक्षण जनावर र मानिसमा गर्ने तयारी छ ।

झण्डै डेढ दुई सय मानिसमा खोपको परीक्षण गर्ने तयारी भए पनि प्रक्रियाकै चरणमा रहेकाले निश्चित भइनसकेको डा. ज्ञवालीले जानकारी दिए । खोप परीक्षणका लागि तयारी भए पनि प्रपोजल तयार हुनै बाँकी छ । परीक्षण गर्ने व्यक्ति र खर्चबारे टुंगो लागि नसकेको परिषद्का सदस्य सचिव डा. ज्ञवालीले बताए ।

खोपको परीक्षणको लागि बिरामीको सबै क्लिनिकल रेकर्ड, औषधिको प्रति असर तथा औषधिको रेकर्ड दुरुस्त राखी परिषद् तथा स्वास्थ्य मन्त्रालयमा पठाउन भनिएको छ । विश्वका विभिन्न देशले अहिले कोरोना विरुद्ध बनेको खोपको तेस्रो चरणमा परीक्षणको तयारी गरिरहेका छन् । रुसमा भने तेस्रो चरणको परीक्षण विना नै खोपलाई स्वीकृति दिएको भन्दै स्वास्थ्य विज्ञले खोपको प्रभावकारितामा प्रश्न उठाएका छन् ।