कोरोना संक्रमण बढेको भन्दै जाजरकोटमा एक हप्ता निषेधाज्ञा जारी

जाजरकोट, काेराेना बढेकाे भन्दै   जाजरकाेटमा निषेधाज्ञा जारी गरिएकाे छ ।  स्थानीय प्रशासनले जाजरकोट सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हाे  ।

सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमबार राती १२ बजेदेखि १५ गते १२ बजेसम्मका लागि निशेषाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताएका छन ।

सहनीले अनाबश्यक भिड गर्न नपाइने काम नपरि बाहिर हिडडुल गर्न नपाइने समेत बताएका छन । साथै अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालयको कामकाज समेत बन्द गरिएको जनाइएकाे छ ।

केही दिनअघि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पश्चिम रुकुमको चौरजहारीस्थित मिसन अस्पताल (कोरोना अस्पताल) पठाइएका २० मध्ये १९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

भेरी नगरपालिकाले संकलन गरेका १३ मध्य बाहुनथाना स्वास्थ्य चौकीमा कार्यरत एकजना स्वास्थ्यकर्मी, एकजना बैंकका कर्मचारी र दुईजना भेरी नगरपालिकाका कर्मचारी रहेका छन् ।

त्यस्तै स्वास्थ्य सेवा कार्यालयको एक प्रोजेक्टका दुईजना कर्मचारी, प्रहरी दुईजना, दुईजना नेपाली सेना र अन्य स्थानीयमा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल पर्सन कृष्णबहादुर खत्रीले बताए ।

कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि भेरी नगरपालिका र राष्ट्रिय बाणिज्य बैंक सिल गरिएको छ । त्यहाँ कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।