सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा स्मार्टफोन बरामद

नेपालगन्ज , सशस्त्र प्रहरी बाँकेले अहिलेसम्मकै ठुलो परिमाणमा स्मार्ट मोबाइल फोन बरामद गरेको छ।

तस्करी समाप्त पार्ने उदेश्यका साथ अघि बढेका सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका एसपी अशोक बम आएको ३ हप्तामै ठुलो सफलता हासिल गर्दै गएका छन् । एसपी बमको आदेश र सशस्त्र प्रहरीका अन्य अधिकृतसहित जवानहरुको कडा मेहनतले सशस्त्र प्रहरी बाँकेले धमाधम अवैध सामाग्री नियन्त्रण गर्दै आएको छ।

अवैध सामाग्री नियन्त्रणकै क्रममा कालाबन्जार बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले भारतबाट ल्याउदै गरिएको ११ लाख रुपैयाँ बराबरको अवैध स्मार्ट मोबाईल फोन बरामद गरेको छ। आइतबार बिहान ३ बजे गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक डाँगीको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर २ बेेेतहनीबाट भारतबाट ल्याउदै गरेको ८५ थान स्मार्ट मोबाइल फोन बरामद गरेको हो।

राप्ती नदीको किनारैकिनार साइकलमा मोबाइल बोकेर आउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्नासाथ सामान फालेर फरार भएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ। त्यस्तै सशस्त्र प्रहरी निरीक्षक डाँगीले मोबाइलको साथमा ९३ थान लेडिज कुर्ता समेत बरामद गरेका हुन् ।

सशस्त्र प्रहरी बाँकेका अनुसार बरामद गरिएका मोबाइल फोनहरुमा रियलमी,भिभो, ओप्पो लगायत अन्य कम्पनीका रहेका छन् । त्यस्तै बरामद गरिएका फोनहरुको मूल्य ११ लाख २० हजार र कुर्ताको मूल्य ३७ हजार २०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी निरीक्षक डाँगी तस्करी बिरुद्ध खरो रुपमा उत्रिने प्रहरी अधिकृतमा पर्ने गर्छन् । आफुले कमान्ड सम्हालेको १ हप्ता नपुग्दै उनले यति ठुलो परिमाणमा अवैध मोबाइल बरामद गर्न सफल भएका छन् ।

तस्करहरुले राप्ती नदीको किनारैकिनारबाट भारतबाट अवैध ल्याने गरेता पनि सशस्त्र प्रहरीले उनीहरुको कार्य बिफल बनाउदै आएको छ। सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा करिब ३० लाख रुपैयाँ बराबरको अवैध सुर्तीजन्य सामाग्री समेत बरामद गरिएसकेको छ।

आज बिहान बरामद गरिएका मोबाइल फोन र कुर्तालाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।