काठमाडौँ उपत्यकामा मात्रै भेटिए डेढ सयभन्दा बढी संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा आज (शनिबार) २१६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो।

केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सय जनाभन्दा बढी संक्रमित थपिइरहेका छन्। हिजो शुक्रबार काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जना गरी १८२ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी बिहीबार काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जना गरी २०० जना संक्रमित थपिएका थिए। बुधबार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको थियो।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ७६ पुगेको छ। यीमध्ये काठमाडौंका २ हजार ३६४, ललितपुरका ४०७ र भक्तपुरका २४२ जना छन्।