भदौ १६ बाट नियमित उडान, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमडौँ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडाउनमार्फत् यात्रुको उद्धार गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

त्यसका लागि उडान तालिका पर्यटन मन्त्रालयले प्रकाशित गर्नेछ। यात्रुहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च भने सम्बन्धित एयरलाइन्सले व्यहोर्नुपर्छ ।

बैठकले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हाे।

तर, कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन पाइने छैन । त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिनेछ ।

सरकारले जुनसुकै स्वास्थ्य संस्था वा निजी सामुदायिक अस्पतालबाट समेत सेवा सञ्चालन र जनशक्ति परिचालन गर्ने/गराउने निर्णय पनि गरेको छ । आवश्यकताअनुसार जुनसुकै अस्पताललाई कोभिडको उपचारका लागि मात्रै तोक्न सक्ने निर्णय पनि सरकारले गरेको छ । कसैले बाधा अवरोध गरेमा कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यसैगरी, सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । राष्ट्रकवि घिमिरेको मृत्युप्रति शोकप्रकट गर्दै सरकारले अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो ।

यस्तै, बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई प्रतिपरिवार २ लाख र एक परिवारमा १ जनाभन्दा बढीको मृत्यु भएमा प्रतिमृतक १ लाखका दरले उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, घाइतेहरूको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

आवास वा पसलमा क्षति पुगेको भए प्रतिपरिवार १५ हजार उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । यस्तै, परिवारमा ५ भन्दा बढी रहेको अवस्थामा २० हजार उपलब्ध सरकारले गराउने भएको छ ।

घर पूर्ण क्षति भएको अवस्थामा प्रतिपरिवार १ लाख उपलब्ध गराउने, घाइतेको उपचारका साथै आउजाउका लागि सहयोग रकम उपलब्ध गराउने र घर बनाउन आवश्यक पर्ने काठ सहुलियत दरमा उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ । आजसम्म बाढी पहिरोमा परेर हालसम्म २५० को मृत्यु भएकोछ । यसैगरी, ८४ बेपत्ता भएका छन भने, १५२ घाइते भएका छन् । आजसम्म बाढी पहिरोबाट ३ सय ५१ घर भत्किएका छन ।