पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु

पर्सा, पर्साको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचाररत कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। यससँगै पर्सामा ज्यान गुमाउनेको कोरोना संक्रमितको संख्या २६ पुगेको छ।

कोरोना संक्रमण देखिएपछि गत साउन ३२ हेल्थ केयरमा भर्ना भएका वीरगन्ज महानगरपालिका९, रानीघाटका ४८ वर्षीय महेन्द्रप्रसाद शंकरको उपचारको क्रममा मृत्यु भएको हो।

नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले ती पुरुषको शरीरमा अक्सिजन कमी भएर मृत्यु भएको बताए। ती पुरुषलाई आईसीयुमा राखेर भेन्टिलेटरबाट अक्सिजन दिइए पनि फोक्सोले पर्याप्त अक्सिजन लिन नसकेको उनको भनाइ छ। उनका अनुसार ती पुरुष मुटुसम्बन्धी रोग तथा रक्त चापका बिरामी थिए।

आज बिहान मात्रै रौतहटका निजामुदिन अन्सारीको उपचारको क्रममा मृत्यु भएको थियो। उनमा ज्वरो, रूघाखोकी, झाडापखाला, श्वासप्रश्वासलगायत समस्या रहेको बताइएको छ।