निसीखोला गाउँपालिकाकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु

बागलुङ, निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नम्बर–५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय बालक प्रवेश विक र वडा नम्बर–३ का ६० वर्षीया बली विक रहेका छन् ।

घरमाथिबाट खसेका पहिरोमा पुरिएका तीनै जनालाई मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।मृतक वीरेन्द्र स्थानीयवासी हिरा विक र प्रेवश दिलसरा विकका छोरा हुन् । साठी वर्षीया मृतक बली ठुच्चे विककी श्रीमती रहेको प्रहरीले जनाएको छ । ५३ वर्षीया दिलसरा सामान्य घाइते भएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पहिरो गएको खबर पाउन साथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरी टोली पनि घटनास्थल पुगेको छ । अविरल वर्षासँगै खसेका पहिरोले निसीखोलामा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि अवरुद्ध भएको जनाइएको छ ।