प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोन वार्ता

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (शनिबार) फोनवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको जानकारी गराएका छन् । उनले फोन वार्ताका बारेमा परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्ने तयारी गरिरहेको जानकारी दिएका छन् । ‘प्रधानमन्त्र िकेपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ, यसबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकल्ने तयारी गरिरहेको छ’, सल्लाहकार थापाले भने ।

यसअघि आजै प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जाल ट्वीटरमार्फत समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए । लिपुलेक विवादपछि प्रधानमन्त्री तहमा पहिलो पटक वार्ता भएको हो । कोभिड–१९ को रोमथामबारे दक्षिण एसियाली राष्ट्रका कार्यकारी बीच संयुक्त संवाद भएयता दुई प्रधानमन्त्रीबीच कुराकानी हुन सकेको थिएन ।

केही दिन अगाडि प्रधानमन्त्री ओलीले एक टेलिभिजनमार्फत् सीमा समस्या कुटनैतिक माध्यमबाट हल हुने अभिव्यक्ति दिएका थिए । लिम्पियाधुरासहितको भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि पहिलो पटक मोदीसँग प्रधानमन्त्री ओलीले टेलिफोन संवाद गरेका हुन् ।